काठमाडौं – मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी र गैरकानुनी रूपमा रकम विदेश पठाइएको प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
तत्कालीन श्रम सचिव रहेका अर्यालमाथि अनुसन्धान अघि बढाउँदै प्रहरीले पक्राउ अनुमति लिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले अर्यालको खोजी भइरहेको जानकारी दिए ।
वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी ठूलो परिमाणमा विदेश पठाइएको प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन् ।
यसअघि नै प्रहरीले यही प्रकरणमा कैलाश खड्का, रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारीलाई पक्राउ गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको सीआईबीले उनीहरूको संलग्नता देखिएपछि पक्राउ गरेको जनाएको छ । पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अनुसार अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा संकलित रकम विदेश पठाउने निर्णय गरिएको थियो । यसरी ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाइएको प्रहरीको भनाइ छ ।
उक्त निर्णय भएको समयमा अर्याल श्रम सचिवको जिम्मेवारीमा थिए ।