सुर्खेत – दैलेखमा श्रीमानले बञ्चरो प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएको छ भने आमा र अर्का एक छोरा गम्भीर घाइते भएका छन्।
जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा शनिबार बिहान करिब ९ः३५ बजे ३८ वर्षीय अम्बर सलामी मगरले आफ्नै श्रीमती र तीन सन्तानमाथि दाउरा काट्ने बञ्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
घरायसी सामान्य विवादका क्रममा भएको घटनामा १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिश्मा सलामी गम्भीर घाइते भएका थिए। उपचारका लागि नगर अस्पताल दुल्लु पुर्याइएका उनीहरूलाई चिकित्सकले बिहान ११ः१० बजे मृत घोषणा गरेका हुन्।
बञ्चरो प्रहारबाट घाइते भएका ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर र ६ वर्षीय छोरा मिलन सलामीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी हाँडाकोट र इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले बञ्चरो प्रहार गर्ने अम्बर सलामी मगरलाई नियन्त्रणमा लिनुका साथै घटनामा प्रयोग भएको बञ्चरोसमेत बरामद गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।