काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन्। आइतबार आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने प्रतिनिधिसभा सदस्य समेत रहेका थापाको भनाई छ। यसबारेमा उनले भने, ‘म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु, न बन्छु अहिले। मैले अहिले काँग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो। म सरकार कति दिन टिक्यो भन्ने आधारमा सफलता नाप्दिन। परिणाम के निस्कियो भन्ने हो। यो सरकारले परिणाम दिन सकेन भने ५ वर्ष खेर जान्छ।’
राजनीतिक दलहरू खुसी हुँदैमा जनता खुसी हुन्छन् भन्ने भ्रम नपाल्न पनि उनको आग्रह छ। उनले सरकार बन्ने कुरा प्राथमिकतामा नराखी सरकारले जनतासमक्ष परिणाम दिन सक्नुपर्ने बताए।