निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ का लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरेको छ । सङ्घीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ । मतपत्रमा उम्मेदवारको तस्बिर र नाम समावेश गरिएको छ । उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी चार उम्मेदवार हुन्।
सङ्घीय संसद् र प्रदेशसभाका सदस्यले मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मत सङ्केत गर्नुपर्नेछ । उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद् र प्रदेशसभाका सदस्य मतदाता रहेका छन् । सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ रहेको छ ।
नेपालको संविधानको धारा ६७ मा नेपालमा एक उपराष्ट्रपति हुने व्यवस्था गरिएको छ । राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संविधानमा उल्लेख छ । निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको कुनै व्यक्ति उपराष्ट्रपतिको पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतःरिक्त हुने संवैधानिक प्रावधान छ । उपराष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ ।
नेपालको संवैधानिक प्रावधानअनुसार उपराष्ट्रपतिको तेस्रो निर्वाचन हुन लागेको हो । मुलुक सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि पहिलो उपराष्ट्रपतिको निर्वाचन भएको थियो । पहिलो उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । दोस्रो निर्वाचनबाट उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए ।