काठमाडौं – नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ संशोधन गरेको छ । राष्ट्र बैंकले सोमबार मार्गदर्शन संशोधन गर्दै चालू पुँजी कर्जाको सीमा बढाएको हो ।
बैंकले एक परिपत्र जारी गर्दै चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई संशोधन गर्दै उत्पादनमुलक उद्योगले ३ करोडसम्मको चालुपूँजी कर्जा प्रयोग गर्दा मार्गदर्शन लागु नहुने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा जनाएको प्रतिवद्धता अनुसार चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन पुनरावलोकन गरेको हो । अन्य व्यवसायको हकमा समग्र बैंकिङ प्रणालीबाट कुल १ करोडसम्म चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा उक्त मार्गदर्शन लागु नहुन व्यवस्था यथावत छ ।
यसअघि सबै कर्जाको लागि एक करोडको सीमा रहेकोमा अब उत्पादनमुलक उद्योगको लागि भने ३ करोडको सीमा तोकेको हो ।
राष्ट्र बैंकले उत्पादनमुलक उद्योगलाई ४ करोडसम्मको चालू पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालू पुँजी कर्जा सीमा कायम गर्नसक्ने व्यवस्था गरेको छ ।
यस्तो कर्जाको अवधि १ वर्ष वा सोभन्दा कम हुनुपर्ने र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुने संशोधित व्यवस्थामा उल्लेख छ ।