काठमाडौं – उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नव नियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति रोकिदिएको छ ।
कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो ।
अदालतले कोषको निर्णय कार्यान्वयन नगर्न भनेपछि उनको नियुक्ति बदर भएको हो । गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुस २९ मा मरासिनीले रिट दायर गरेका थिए ।
पुनको नियुक्तिमा आवश्यक मापदण्ड नपुगेको कारण तत्कालको लागि नियुक्ति रोकिएको पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए । पुस ४ मा बसेको परिषद् बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्तावमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो ।