काठमाडौं-नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति भारत र चीन खुसी नभएको दाबी गरेका छन् ।
माओवादी काभ्रे काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष सापकोटाले यस्तो बताएका हुन् । उनले कांग्रेस एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकारप्रति दुवै छिमेकी खुसी नभएको दाबी गरे ।
उपाध्यक्ष सापकोटाले भने, ‘दुइटा छिमेकीको बीचमा हाम्रो पार्टी नेतृत्वको सरकारले सन्तुलित सम्बन्ध कायम गरेको थियो । अहिले त्यो सन्तुलन बिग्रिएको छ । अहिलेको सरकारप्रति न उत्तर न त दक्षिण नै खुसी छ । सात समुन्द्र पारिका पनि धेरै खुसी छन् जस्तो लाग्दैन ।’
उनले अहिलेको सरकारले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्न नसकेको बताए ।
उपाध्यक्ष सापकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा माओवादीको इमेज धेरै माथि पुगेको जिकिर गरे । उनले अहिलेको सरकार भए पनि जनताले प्रत्याभूत गर्न नपाएको बताए ।