पर्सा – जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले सिंहविरुद्ध दर्ता भएको मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको हो ।
मेयर सिंह आज बिहान मात्रै जिल्लाको ठोरी गाउँपालिका–३ स्थित रिसोर्टबाट पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार १२ जेठमा मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।
प्रारम्भिक विवरणअनुसार, मेयर सिंहले नक्कली कागजातका आधारमा अर्काको छोरीलाई आफ्नै छोरी बनाएर नागरिकता जारी गराएको आरोपसहित जाहेरी परेको थियो ।
वीरगन्जका स्थानीय लियाकत अलीले दिएको जाहेरीका आधारमा अदालतले पक्राउ गर्न अनुमति दिएको थियो । पक्राउ पुर्जी जारी भएको सूचना सार्वजनिक हुनासाथ मेयर सिंह भने मोबाइल अफ गरेर सम्पर्कबिहीन भएका थिए ।
भोलिपल्ट बुधबार भने उनी आफैं अदालत उपस्थित भएको विषय पनि सार्वजनिक भएको थियो । तर, अदालतले उनीमाथिको मुद्दाको कारबाही तत्काल नहुने जानकारी गराएको बताइएको छ ।
त्यसपछि फेरी फरार भएका मेयर सिंहलाई एक सातापछि प्रहरीले नियन्त्रणमा लिएको हो ।