काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छन् । बैठकको सुरुमै अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् ।
उक्त राजनीतिक प्रतिवेदनमा आउँदो कार्ययोजना, पार्टी संगठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको बताइएको छ ।
यसअघिका बैठकमा अध्यक्षको प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेको थियो । तर, यसपटक भने प्रत्येक केन्द्रीय सदस्यले बेग्लाबेग्लै धारणा राख्न पाउनेछन् । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ ।
दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत नेता सहभागी हुनेछन् ।