काठमाडौं – हुस्सु र कुहिरोका कारण तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । केही दिनदेखि हुस्सु र कुहिरा लाग्नुका साथै चिसो ह्वातै बढेकाले त्यहाँको जनजीवन प्रभावित बनेको हो ।
तराईका विभिन्न जिल्लामा शीतलहरका कारण कतिपय मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा लगायतका जिल्लाको तापक्रम दिनदिनै घट्दै गइरहेको छ । तराईमधेशका अधिकांश जिल्लामा न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झरेको छ ।
यसैबीच प्रदेश सरकारले चिसो प्रभावित जिल्लाहरुमा आगो ताप्नका लागि दाउरा उपलब्ध गराएको छ । यसैगरि मौसम विज्ञान विभागले शीतलहर, हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।