काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ।
आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा उक्त अध्यादेशमा सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो।
प्रथम उपाध्यक्ष राजकिशोर यादवका अनुसार सरकारले ल्याएका अन्य ५ वटा अध्यादेशमा भने जसपा, नेपालले सरकारलाई समर्थन गर्नेछ ।
भूमिसम्बन्धी अध्यादेश भूमाफियाहरूको पक्षमा रहेको पनि जसपा, नेपालले जनाएको छ । सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो ।
त्यसमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय जसपा नेपालले गरेको हो ।
बाँकी ५ वटा अध्यादेश अगाडि बढाउने सन्दर्भमा स्वीकृतिका लागि सकारात्मक रहने जसपा नेपालको निर्णय छ ।
यस्तो निर्णय गर्नु अगाडि जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल नै बनाएर अध्ययन गरेको थियो ।