मोरङ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाथीभरा केबुलकार निर्माण विवादमा सरकारले बल प्रयोग गरे आफूहरू आन्दोलनकारीको पक्षमा उभिने बताएका छन् ।
हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’ अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘झन् बल प्रयोग गरेर आन्दोलनकारीको टाउको फुटाएर, विचरा प्रहरी नचाहँदा नचाहँदै पनि सरकारले भनेको मान्नुपर्ने, थुप्रै प्रहरी पनि घाइते हुने जुन परिस्थिति सरकारले बनाएको छ । वार्ता र संवादबाट त्यसलाई रोकियोस् । यदि रोकिएन भने माओवादी आन्दोलनकारीको पक्षमा उभिनेछ र देशव्यापी आन्दोलनतिर जानेछ ।’
पाथीभराको मुद्दा सांस्कृतिक र भावनात्मक ऐतिहासिक मुद्दा भएको बताउँदै प्रचण्डले यसमा बल प्रयोग गर्ने दुस्साहस नगर्न सरकारलाई आग्रह गरे ।