काठमाडौं-नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले मधेश प्रदेशका डीआईजी लालमणि आचार्यलाई सादा पोशाकका घुमुवा तत्काल हटाउन निर्देशन दिएका छन् ।
काजमा कार्यरत त्यस्ता घुमुवाहरुलाई तत्काल दरबन्दीमा फिर्ता गर्न उनले निर्देशन दिएका छन् ।
आईजीपी कुँवरले मधेशको डीआईजी हुँदा नै काजफिर्ता गरेका र हटाएका घुमुवालाई डीआईजी आचार्यले सादा पोशाकमा परिचालन गरी असुलीमा लगाएको समाचार अनलाइन नेपालले सोमबार प्रकाशित गरेको थियो ।
विगतमा कारबाहीस्वरुप हटाएका घुमुवालाई पुनः मधेश प्रदेशका रौतहट, बारा र पर्सामा परिचालन गरेको पाइएपछि डीआईजी आचार्यलाई तत्काल उनीहरुलाई हटाउन निर्देशन दिएको स्रोतले बताएको छ ।
आचार्यले नक्कली रक्सी बिक्री गर्ने गिरोहका नाइके सन्तोष बख्रेलको समुहसँग लाइन मिलाउन वरिष्ठ हबल्दार लक्ष्मण सापकोटालाई प्रदेशमा खटाएको स्रोत वताउँछ ।
आचार्य आगामी २०८२ जेठमा ३० बर्षे सेवावधिका कारण अवकाश हुँदैछन् । अवकाशअघि आईजीपी बसन्तबहादुर कुँवर, एआईजी टेकप्रसाद राईसहितका उच्च अधिकारी अवकाश भएपछि एआईजीपी बढुवाको लाइनमा पनि छन् ।
त्यसैगरी, लोथर, रातमाटे जस्ता नाकाबाट तस्करी हुने क्रम रोकिन सकेको छैन । रातमाटे पोष्ट र लोथरबाट डीआईजी कृष्णहरि शर्माले राखेका सईहरु बृजकुमार चौधरी र राजेश यादवलाई सरुवा गरेपछि पनि अझै तस्करी रोकिन सकेको छैन ।
स्रोतका अनुसार डीआईजी शर्माले सुरुमा काजमा ल्याएर पछि दरबन्दी कायम गरिएका घुमुवा हवल्दारले नै तस्करीको सेटिङ मिलाउँदै आएका छन् ।
मधेश प्रदेशका जिल्लाबाट तस्करी भएका सामान बागमती प्रदेशको हेटौंडा हुँदै काठमाडौं आउने गरेको छ । तस्करीको सेटिङ पनि डीआईजीकै संरक्षणमा हुँदै आएको आरोप छ ।
कपिलबस्तु, रुपन्देहीको रुटबाट हुने गाईगोरु तस्करी रातमाटे प्रहरीको स्कर्टिङमा हुने गरेको समाचार त छताछुल्ल भइसकेको छ ।
प्रहरीमा जागिरमा प्रवेश गरेदेखि नै जुन ठाउँमा इन्चार्ज भएपनि विवादमा परेका डीआईजी शर्मा आगामी भदौमा अवकाश हुने भएकाले ५ महिनामा जतिसक्दो असुली अभियानमा छन् ।
उनले लमजुङको चितीमा सरुवा भएका असई राजेश साहलाई सुरुमा बसपार्क, त्यहाँ नभएपछि भैंसे र पछि चौकीटोलमा सरुवा गर्न एसपी विश्वराज खड्कालाई दबाब दिए ।
आइतबार एसपी खड्काले दबाब झेल्न नसकेपछि साहको काज चौकीटोल प्रहरी थानामा गरेका थिए । तर, प्रहरी प्रधान कार्यालयबाट साहलाई तुरुन्त रमाना दिएर लमजुङ पठाउन दबाब दिएपछि काज रद्द भएको थियो ।
डीआईजी शर्मा भने एसपी खड्कामाथि दोश थोपेरर उम्किने प्रयासमा छन्।
गलत क्रियाकलाप रोक्न भन्दा पनि समाचार कसले र किन मिडियामा दियो भनेर डीआईजी शर्माले एसपी खड्कामाथि स्पष्टिकरण लिएको बागमती प्रदेशकै एक प्रहरी अधिकारीले वताए।
अवकाश अवधि नजिक भएका डीआईजीद्वय आचार्य र शर्मा बदनाम घुमुवा राखेर कमाउधन्दामा लिप्त भएको सूचनापछि आईजीपी कुँवरले सादा पोशाकमा खटिएका उनीहरुलाई तुरुन्त फिर्ता गर्न र नगरे कारबाही भोग्न तयार रहन चेतावनी समेत दिएको प्रहरी स्रोत बताउँछ ।
होलीको मुखमा बाराका एसपी सन्तोष तामाङले केही हुन्डी कारोबारीसँग सेटिङ गरेको खबर पनि आईजीपीको सचिवालयसम्म पुगिसकेको स्रोत वताउँछ ।