काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिलाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक आफुहरुको काँधमा आएको बताएका छन् ।
वाईसीएल नेपालको बैठक उदघाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले अझ बढी संगठित र सशक्त भएर प्रतिक्रान्तिकारीहरुलाई परास्त गर्नुपर्ने धारणा राखे।पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै प्रचण्डले जनताले अस्वीकार गरेका र वैधानिक रुपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु स्वाभाविक नहुने उल्लेख गरे । त्यस्ता प्रयासका विरुद्ध अझ बढी संगठित हुन युवाहरुलाई आह्वान गरे ।
अहिलेको सरकारले गरिरहेको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीहरुले आफूलाई स्पेस पाएको महसुस गर्न थालेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले यसलाई क्रान्तिकारीहरुले क्रान्ति पूरा गर्ने अवसरको रुपमा लिनुपर्ने बताए । गणतन्त्रको विकल्प कुनै पनि नामको निरंकुशता नभई समाजवादी गणतन्त्र भएकाले यसमा बल दिएर अगाडि जानुपर्ने बेला आएको उनले बताए ।