काठमाडौं-त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा मात्रै भएको छ ।
त्रिवि, केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार ६४ मध्ये ३८ वटा आंगिक क्याम्पसमा चुनाव भएको हो ।
बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको थियो । निर्वाचन अधिकृतहरूका अनुसार मतदानका लागि भित्र छिरेकाले भने भोट हाल्न पाउने छन् ।
आज दुई वटा क्याम्पसमा चुनाव रोकिएको छ । मतदान सुरु भएर पनि ललितपुरको पाटन संयुक्त क्याम्पस र पोखराको पृथ्वीनारायण क्याम्पसमा रोकिएको छ ।
अधिकारीका अनुसार पृथ्वीनारायणमा भोलि मतदान हुने सहमति भएको छ । पाटनमा सहमतिको प्रयास भइरहेको छ ।
त्रिविका ६४ वटा अंगिक क्याम्पसमध्ये ३८ वटामा आज चुनाव भएको र नभएका क्याम्पसमा सहमतिको प्रयास जारी रहेको उनले बताए ।
त्रिविका १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । सम्बन्धन प्राप्त कतिवटा क्याम्पसमा चुनाव भयो यसबारे विवरण संकलन भइरहेको त्रिविले जनाएको छ ।