काठमाडौं-प्रतिनिधि सभाको बैठक बस्दै नबसी आइतबारसम्म स्थगित भएको छ ।
बिहान ११ बजेका लागि तय भएको बैठक बस्न नसकेपछि सूचना निकालेर दिउँसो सवा १ बजेका लागि राखिएको थियो । सवा १ बजेको बैठक पनि चल्न नसक्ने भएपछि आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो ।
सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरे पनि सहमति जुट्न नसकेपछि बैठक १७ गतेसम्मका लागि सारिएको हो ।
विपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङको हटाएको विषयमा प्रधानमन्त्री केपी ओलीको जवाफ माग्दै सदन अवरोध गर्दै आइरहेका छन्। तर, प्रधानमन्त्री ओली पनि जवाफ दिने पक्षमा छैनन्।
सत्तापक्ष र प्रतिपक्षको अडानका कारण संसदका कामकारबाही प्रभावित हुँदै आएको छ ।