AarthikBikash
बिहिबार, जेष्ठ ९, २०८२
  • होमपेज
  • समाज
  • तीनकुने घटनाको अनुसन्धान सकियो, १०८ जना प्रतिवादीसहितको प्रतिवेदन बुझाउँदै प्रहरी

तीनकुने घटनाको अनुसन्धान सकियो, १०८ जना प्रतिवादीसहितको प्रतिवेदन बुझाउँदै प्रहरी

  • बुधबार, जेष्ठ ८, २०८२
तीनकुने घटनाको अनुसन्धान सकियो, १०८ जना प्रतिवादीसहितको प्रतिवेदन बुझाउँदै प्रहरी

काठमाडौं-गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान सकेर प्रहरीले फाइल बुझाउने प्रक्रिया अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले करिब दुई महिना लामो अनुसन्धान सकेर फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो ।

घटनामा १ सय ८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको फाइल प्रहरीले बुझाउन लागेको छ । पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

अनुसन्धानको पाटो सकिएकाले अब डकुमेन्टेसन गरेर आज,भोलिमा सरकारी वकिल कार्यालयमा प्रतिवेदन फाइल बुझाउन लागिएको प्रहरीले जनाएको छ ।

प्रहरीको उक्त अनुसन्धान प्रतिवेदन अध्ययन गरेपछि कसलाई कस्तो मुद्दा चलाउने, को–को प्रतिवादी हुने भन्ने यकिन टुंगो भने सरकारी वकिल कार्यालयले लगाउनुपर्ने छ ।

संगठित अपराधको कसुरमा पक्राउ परेको मितिले ६० दिनभित्र मुद्दा अदालतमा पुगिसक्नु पर्नेहुन्छ ।

१५ जेठ अघि नै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले जतिसक्दो चाँडो अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीले तयारी गरेको छ ।

प्रहरीले मुद्दा चलाउनुपर्ने भनेर उल्लेख गरिएका १ सय ८ जनामध्ये भने १८ जना अझै फरार छन् । बाँकीलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको छ ।

तीमध्ये राप्रपा महामन्त्री धवलशमशेर राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत भाटभटेनीका फलफूल टिप्ने केहीलाई भने हाजिरी जमानीमा हिरासत बाहिरै राखेर अनुसन्धान गरिएको छ ।

अदालतमा मुद्दा पुगेपछि उनीहरूलाई अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

ठूलो संख्यामा प्रतिवादी बन्ने भएपछि परिसरले थप चार युनिटबाट अनुसन्धान अधिकृत मगाएर अनुसन्धान गरेको छ ।

सम्बन्धित समाचार