AarthikBikash
शनिबार, जेष्ठ ११, २०८२
  • होमपेज
  • राजनीति
  • युवतीको खातामार्फत सहसचिव भट्टराईको कारोबार

युवतीको खातामार्फत सहसचिव भट्टराईको कारोबार

  • शुक्रबार, जेष्ठ १०, २०८२
युवतीको खातामार्फत सहसचिव भट्टराईको कारोबार

काठमाडौं-भिजिट भिसाको सेटिङका संलग्न सहसचिव तिर्थराज भट्टराईले एक युवतीको खातामार्फत आर्थिक कारोबार गर्दै आएको खुलेको छ ।

कविता पौडेल नामक युवतीको खातामा घुसको रकम हाल्न लगाउने र उनीमार्फत नै विभिन्न व्यक्तिलाई बुझाउने गरिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा रहेका भट्टराईको आर्थिक कारोबारमाथि आयोगले विस्तृत छानविन गरिरहेको छ । जसक्रममा पौडेलसँग उनको अस्वभाविक सम्बन्ध र आर्थिक काराबोर देखिएको छ ।

ती युवती एक कलेजकी कर्मचारी हुन्। उनलाई पनि आयोगले नियन्त्रणमा लिएर बुधबार सोधपुछ गर्नुका साथे मोबाइल जफत गरेको छ ।

विमानस्थलस्थित अध्यागमन कार्यालयमा दिनमै करिब ५० लाख रुपैयाँसम्म लेनदेन हुनेमा भट्टराईले १० लाख रुपैयाँसम्म लिने गर्दथे । सो पैसा विभिन्न व्यक्तिमार्फत व्यवस्थापन गर्दै आएको खुलेको छ ।

उनी निकट भक्तपुरका खगेन्द्र सुवेदी तथा ट्राभल सञ्चालक बालकृष्ण बस्नेतको समेत मोबाइल अख्तियारले नियन्त्रणमा लिएर परीक्षणमा पठाएको छ । मोबाइलबाट उच्च तहको कनेक्सन पत्ता लगाउने प्रयास अख्तियारको छ ।

यो गिरोहसँग सबैभन्दा धेरै पैसा लिनेमा गृहमन्त्रीको सचिवालय छ । त्यहाँ कार्यरत बद्री तिवारी, जनक भट्ट, विमल पौडेल, गणेशदत्त ओझा लगायत छानविनमा छन् । पौडेल त यसअघि भिजिट भिसासम्बन्धि सेटिङमा मुद्दा खेपेका व्यक्ति हुन् ।

सफाई पाएलगत्तै उनलाई गृहमन्त्री लेखकले आफ्नो सचिवालयमा राखेर अध्यागमनमा कर्मचारी सेटिङ र असुलीमा खटाएका थिए।

त्यस्तै, अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल, गृह मन्त्रालयका सहसचिव छवि रिजालसम्म पैसा नियमित पुग्ने गरेको अख्तियारको प्रारम्भिक छानविनले देखाएको छ ।

सम्बन्धित समाचार