काठमाडौं-नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुमा सहमति नजुटेपछि भोली मतदान हुने भएको छ ।
अनेरास्ववियुको नेतृत्वमा सुजन कडरियाको नाम प्रस्ताव गरिएपछि सहमति नजुट्दा निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
अनेरास्ववियुको जारी २४औं महाधिवेशनको अध्यक्ष पदमा कडरियाको नाम प्रस्ताव गरिएपछि असन्तुष्टहरुले नाराबाजी गरेका थिए ।
कडरियालाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन छ ।
अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले दावी गरेका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार, आजै ३ देखि ५ बजेसम्म उम्मेदवारी दर्ता फारम वितरण गर्ने, ४ देखि ६ बजेसम्म दर्ता गर्ने जनाएको छ ।
आजै राति ८ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने समितिले बताएको छ ।
मतदान भोलि बिहान १० बजेदेखि ५ बजेसम्म हुने मतदान कार्यतालिकामा उल्लेख छ ।