काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती विधेयक अगाडि बढाउने सम्बन्धमा केही समय पर्खिन आग्रह गरेका छन् ।
बुधबार कांग्रेसका नेताहरू र प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूसँग निजामती विधेयकको विषयमा भएको छलफलमा उनले यस्तो बताएका हुन् ।
राज्य व्यवस्था समितिले हाल ५८ वर्षमा अवकाश हुने रहेको प्रावधानलाई बदलेर ६० वर्ष पुर्याउने गरी विधेयक पास गरेर अगाडि बढाएको छ ।
अवकाश पाएपछि २ वर्षसम्म संवैधानिक वा अन्य नियुक्ति नपाउने प्रावधान समेटिएको छ ।
राजीनामा दिएका कर्मचारीको हकमा समेत यो प्रावधान लागू हुने गरी विधेयकको प्रतिवेदन तयार भएर सभामा पेस भइसकेको छ ।
निजामती विधेयकमा रहेको अवकाशको उमेर र अवकाशपछि निश्चित समय संवैधानिक वा अन्य नियुक्ति नपाउने प्रावधानप्रति प्रधानमन्त्री ओलीको चासो छ ।
संसदीय समितिबाट सर्वसम्मत रुपमा पास भएर अगाडि बढेको विधेयक सभामा पुगेर अड्किँदा राम्रो सन्देश नजाने कांग्रेस नेताहरूको भनाइमा प्रधानमन्त्री ओलीले केही समय मात्रै पर्खिन भनेका छन् ।
प्रधानमन्त्रीले नै पर्खिन भनेपछि विधेयक कहिले अडाडि बढाउने यकिन नै नगरी प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर तयार भएको छ ।