काठमाडौं-गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट चितवनका गुञ्जन राईलाई पक्राउ गरेको हो ।
उनीविरूद्ध म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
गुञ्जन केही साताअघि नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा शीर्ष २५ को सूचीमा परेका थिए ।
एलिनाले आफूमाथि गालीगलौज गर्नेको ‘भण्डाफोर’ अभियानअन्तर्गत गुञ्जनको पनि प्रोफाइल सार्वजनिक गरेकी थिइन् ।
सामाजिक सञ्जालबाट प्रोफाइल सार्वजनिक गरेर पनि नभएको भन्दै एलिनाले नीजि जीवनका कुरालाई लिएर सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्नेहरूविरूद्ध सोमबार साइबर ब्यूरो पुगेर चार जनाविरूद्ध उजुरी दिएकी थिइन् ।
उनले बुधबार साँझ केही मान्छेहरूले नराम्रो प्रतिक्रिया गर्दैमा आफू कमजोर नहुने बताएकी थिइन् ।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबूकमार्फत उनले भनेकी थिइन्–‘बाँच्नुभन्दा मृत्यु सहज लागेको अवस्थाबाट बाँचेर फर्किएको मान्छे हो, के लाग्छ– २/४ वटा नराम्रो प्रतिक्रियाले हार मान्छु होला ? तिमीहरूले मलाई सखाप पार्न भनेर फालेको आगोको मुस्लोले मेरो जिन्दगीलाई थप उज्यालो बनाउँछ ।’