काठमाडौं-नेपाली कांग्रेसको इतर समूहको आकस्मिक बैठक अहिले बसिरहेको छ । बैठक नेता शेखर कोइरालाको विशालनगरस्थित सचिवालयमा बसिरहेको हो ।
बुधबार पार्टीको अनुशासन समितिबाट भएको २३ नेताहरूमाथिको कारबाहीप्रति समूहभित्रको धारणा तय गर्न बैठक बोलाइएको हो ।
बैठकमा शेखर कोइरालासहित उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, बलबहादुर केसी, सञ्जय गौतम लगायतका नेताहरू र केही मन्त्रीहरूको सहभागिता रहेको छ ।
अनुशासन समितिले लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, पूर्वमन्त्री कुमार खड्का लगायत २३ जना नेतामाथि कारबाही गरेपछि इतर समूह असन्तुष्ट बनेको छ ।
उनीहरूले संस्थापन पक्षले समितिमा बहुमतको आधारमा एकपक्षीय निर्णय गरेको आरोप लगाएका छन् । समितिमा तीनजना संस्थापन पक्षका र दुईजना इतर समूहका सदस्य छन्। कारबाहीमा परेकामध्ये अधिकांश इतर समूहका नेता रहेका छन् ।
इतर समूहले कारबाहीको निष्पक्षता र विधिको सम्मान हुनुपर्ने भन्दै आजै आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।