काठमाडौं – बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा आजदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सुरक्षा समिति बैठकले काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि रातमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।
कार्यालयले मनसुन सक्रिय रहेकाले सम्भावित विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि उल्लेखित क्षेत्रमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको छ ।
यसअघि यही असार ६ गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्ला सुरक्षा समिति, अन्तरजिल्ला समन्वय समितिको बैठकले बीपी राजमार्गमा सुरुमा असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ६ बजेसम्म र पछि त्यसलाई असार मसान्तसम्म निरन्तरता दिँदै यातायात सञ्चालनमा रोक लगाएको थियो ।
तत्कालका लागि यात्रुबाहक र निजी गाडीलाई रोकिएको तर आकस्मिक र मालबाहक गाडीको हकमा नियम लागू नहुने बताइएको छ ।