काठमाडौं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापतिको स्वभाविक दाबेदार रहेको बताएका छन्
उपप्रधान एवं शहरी विकास मन्त्रीसमेत रहेका नेता सिंहले आफू सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा रहिसकेको दृष्टान्त सुनाउँदै अबको लक्ष्य पनि सभापति र प्रधानमन्त्री नै रहेको बताए ।
पार्टीका नेता तथा कार्यकर्ताहरूले समेत आफूलाई अबको पार्टी सभापतिका रुपमा हेर्न चाहेको दावी गर्दै उनले भने–‘आफू सामान्य कार्यकर्ता हुँदै काम गर्दै आएको, सभापतिमा पनि एक पटक प्रतिस्पर्धा गरिसकेको, प्रधानमन्त्री र सभापति बाहेक सबै पदमा काम गरिसकेको, नेता कार्यकर्ताले पनि सभापति नै बन्न भनिरहनु भएको छ ।’
जनतालाई अधिकारसम्पन्न बनाउन र देशमा तानाशाही व्यवस्था अन्त्य गर्न राजनीतिमा आएको बताएका उनले भने–‘नेपाली कांग्रेस पार्टीमा सामान्य कार्यकर्ता हुँदै तलैदेखि काम गरेर आएको हुँ । काठमाडौं जिल्ला सभापति, केन्द्रीय सदस्य, निर्वाचित महामन्त्री भएँ । उपसभापति भएँ । सभापतिमा पनि प्रतिस्पर्धा गरिसकेँ । पार्टीमा सभापति र सरकारमा प्रधानमन्त्री बाहेक अरु जिम्मेवारीमा रहेर काम गरिसकेको छु । अब मेरो दाबेदारी पार्टीभित्र कुन पदमा रहला ? तपाईं आफैं अनुमान गर्न सक्नुहुन्छ ।’