काठमाडौं-देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ ।
यस्तै, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
यसैगरी, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडक खण्ड, बागलुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, बागलुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।