काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ ।
उनीहरुबीच प्रधानमन्त्री निवास, बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुई पक्षीय चार समझदारी र विगतमा दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयनलगायत विषयमा विचार विमर्श भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो र मित्रवत् सम्बन्धको चर्चा गर्दै नेपाल एक चीन नीति प्रतिबद्ध रहेको दोहोर्याए ।
उनले हालैको आकस्मिक बाढीका कारण ध्वस्त रसुवागढी नाकामा आवश्यक संरचना निर्माणमा चीनले दिएको प्राथमिकताका लागि धन्यवाद दिँदै नेपाली पक्षबाट पनि आवश्यक तदारुकता दिइएको बताए ।
सो प्रतिनिधिमण्डलले सोमबार विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाका बारेमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको थियो भने सोही अवसरमा चार परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको थियो।