काठमाडौं-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेष्ठ नागरिकका माग पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार बिहान जेष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधिहरूको भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । महासंघका प्रतिनिधिहरूले अध्यक्ष निवास खुमलटारमा भेट गरी जेष्ठ नागरिकसम्बन्धी विभिन्न मागहरू राखेका थिए ।
महासंघका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने लगायतका मागहरू राखे ।
महासंघका मागहरूलाई गम्भीरतापूर्वक सुनेपछि अध्यक्ष दाहालले पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘तपाईंहरूले उठाएका मागहरू अत्यन्तै न्यायसंगत छन्। म आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने छु। यी मागहरूलाई गर्ने दिशामा हाम्रो पार्टी माओवादी केन्द्रले सकारात्मक पहल गर्ने छ,’ उनले भने ।