एजेन्सी-अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एक ठूलो दुर्घटना हुन्बाट जोगिएको छ । मियामी जाँदै गरेको अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानको ल्यान्डिङ गियर फेल हुँदा टेकअफ रोक्दा विमानको पछिल्लो भागमा आगो लागेको हो ।
यो घटना अमेरिकाको समय अनुसार दिउँसो २:४५ बजे भएको थियो। विमानमा १७३ यात्रु र ६ क्रु सदस्य थिए। सबैलाई आपतकालीन स्लाइडमार्फत बाहिर निकालिएको छ ।
दुर्घटनामा ६ जनालाई सामान्य चोट लागेको थियो र एक जनालाई अस्पतालमा भर्ना गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) र एयरलाइन्सले यस विषयमा अनुसन्धान सुरु गरेका छन्।
१२ जुनमा अहमदाबादमा दुर्घटनामा परेको एअर इन्डियाको विमान पनि बोइङ कम्पनीकै थियो। ‘बोइङ ७८७-८’ मोडलको उक्त विमान टेकअफ भएको दुई मिनेटमै दुर्घटना हुँदा २७० जनाको मृत्यु भएको थियो ।