जनकपुर-जनकपुरमा सोमबार राति एक जनाले खुकुरी प्रहार गरी एक किशोरीको हत्या गरेका छन् भने दुई बालिकालाई गम्भीर घाइते बनाएका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले जनकपुर उपमहानगरपालिका–४ स्थित स्वर्गीय सूर्यनन्द चौधरीको एकतले पक्की घरमा राति साढे ११ बजे अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन् ।
उनको खुकुरी प्रहारबाट सोही घरमा डेरा गरी बस्ने अञ्जलीकुमारी यादवको घटनास्थलमै मृत्यु भएको हो । १५ वर्षीया अञ्जली दिनेश यादवकी छोरी हुन् । प्रहरीले जनाएको छ, अञ्जलीको घाँटी चिर्ने गरी खुकुरी प्रहार गरिएको थियो ।
साहले अञ्जलीकी आमा, ३५ वर्षीया आशा यादवमाथि पनि खुकुरी प्रहार गरेका छन् । उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
यसैगरी, सोही कोठामा डेरा गरी बस्ने १४ वर्षीया राधा यादवमाथि समेत खुकुरी प्रहार गरिएको छ । उनी धनुषाको मिथिला नगरपालिका–१ ढल्केवरकी हुन् । राधाको दाहिने हात र घुँडामा गम्भीर चोट लागेको छ ।
दुबै घाइतेको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । रामबाबु साह घटनापछि फरार छन् । प्रहरीले उनको खोजी जारी राखेको जनाएको छ ।
साह विगतमा आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय भुक्तान गरेर छुटेका थिए ।