काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले केपी शर्मा ओलीको दम्भ र अंहकारका कारण नेपालको कम्युनिस्ट आन्दोलनलाई सकिने मोडमा पुगेको बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले एमालेमा अहिले चलिरहेको ‘तमासा’ले नेपालको कम्युनिस्ट आन्दोलनलाई सक्ने जिकिर गरे । उनले वर्तमान सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदाइ नगरेसम्म मुलुक पीडाबाट मुक्त हुन नसक्ने समेत उनले बताए ।
‘एमालेमा अहिले जुन खालको तमासा चलिरहेको छ, त्यसले नेपालको कम्युनिस्ट आन्दोलन सक्छ । यसमा अध्यक्ष ओली लागिपर्नुभएको छ,’ उनले भने । अध्यक्ष नेपालले पूर्वराष्ट्रिपति विद्यादेवी भण्डारीलाई एमालेमा सक्रिय हुन रोक्ने खेललाई ‘तमासा’को संज्ञा दिए । निषेधको राजनीतिले कम्युनिस्ट आन्दोलनको अस्तित्व समाप्त हुने उनको भनाइ छ । नेपालले पूर्वराष्ट्रपति तथा पूर्वउपराष्ट्रिपतिलाई राजनीतिमा सक्रिय हुन संविधान र कानुनले नरोकेको पनि बताए ।