काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘कुलिङ अफ पिरियड’ मा भएको कीर्ते प्रकरणमा संसदीय समितिले पेश गरेको प्रतिवेदनको मर्म अनुसार पार्टीले निर्णय लिने बताएका छन् । ‘कुलिङ अफ पिरियड’ को प्रावधानप्रति भएको चलखेलप्रति समितिले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको छ ।
समितिले खतिवडाको भूमिका माथि प्रश्न उठेपछि उनले नैतिकताको आधारमा पद छोड्नुपर्ने कांग्रेसभित्र र बाहिरबाट आवाज उठिरहेका छन् । तर, उनले आफूले गल्ती नगरेको दावी गर्दै राजीनामा नदिने बताइसकेका छन् । महामन्त्री शर्माले भने–‘समितिले प्रतिवेदनको उल्लेख गरेका विषयलाई दृष्टिगत गरेर पार्टीले आवश्यक निर्णय लिन्छ । खतिवडाका विषयमा पार्टीभित्र छलफल हुन्छ र प्रतिवेदनको मर्म अनुसार निर्णय पार्टीले नै निर्णय गर्छ ।’
खतिवडा सभापति रहेको समितिमा कुलिङ अफ पिरियड राख्नका लागि सर्वसम्मत निर्णय भएको थियो । तर, प्रतिनिधि सभाबाट पारित हुँदा समितिबाट पारित भए भन्दा फरक व्यवस्था विधेयकमा राखिएको थियो । विधेयकमा फरक प्रावधान राखेर पारित संसदबाट पारित भएपछि त्यसमा छानविन गर्न संसदीय समिति बनेको थियो । कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा रहेको समितिले तयार गरेको प्रतिवेदन मंगलबार संसदमा पेश गरिएको छ ।