काठमाडौं-सत्तारुढ दल नेकपा एमालेले पनि निर्वाचन आयोगले ल्याउन लागेको ‘स्वमूल्यांकन कार्यविधि’ प्रति असहमति रहेको जनाएको छ ।
यसअघि हिजो मात्रै संसदमा प्रतिनिधित्व गर्ने नेकपा एमाले र नेपाली कांग्रेसबाहेकका दलहरूले उक्त कार्यविधिप्रतिविरोध जनाएका थिए ।
नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अगुवाइमा हिजो सिंहदरबारमा बसेको बैठकले कार्यविधिको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
एमालेले भने आज आफ्नो धारणा सार्वजनिक गरेको हो । ‘स्वमूल्यांकन’ राजनीतिक दलहरूको आन्तरिक मामिला रहेको बताउँदै निर्वाचन विभाग प्रमुख निरज आचार्यले पार्टीको असहमति रहेको जनाएका हुन् ।
उनले भनेका छन्–‘नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनैतिक दलसम्बन्धी व्यवस्था छ । राजनैतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था राजनैतिक दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षाबमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नपर्ने र यसको मूल्यांकन जनताले जनादेशमार्फत् गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो । सैद्धान्तिक रुपमै राजनीतिक दल स्वमूल्यांकन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति नेकपा एमालेको असहमति रहेको छ ।’
निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा सुझाव दिने आज अन्तिम दिन हो ।
निर्वाचन आयोगले यही साउन ८ गते ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ प्रकाशन गरेर यसउपर सुझाव मागेको थियो ।
त्यसअगाडि नै राजनीतिक दलहरूलाई कार्यविधि पठाएर सुझाव दिन भनेको थियो ।