कैलाली – जिल्ला कारागार कैलालीमा शुक्रबार राति पुनः कैदीबन्दीबीच झडप भएको छ । एक महिनादेखि निरन्तर झडप हुँदै आएको कारागारभित्र शुक्रबार राति फेरि भडप भएको हो ।
झडपमा परी दर्जनौँ कैदीबन्दी घाइते भएका छन् भने एक जनाको मृत्यु भएको आशंका गरिएको छ । घटनापछि कारागारभित्रको अवस्था तनावग्रस्त बनेको छ । यद्यपि मृत्युको आधिकारिक पुष्टि जिल्ला प्रहरी कार्यालयले अहिलेसम्म गरेको छैन ।
घाइते कैदीबन्दीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको छ । अस्पताल र कारागार परिसरमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
स्थानीय स्रोतका अनुसार पछिल्ला हप्तादेखि कारागारभित्र आपसी गुटबन्दी, जेलर परिवर्तन र वर्चस्व विवादका कारण पटक–पटक झडप भइरहेका छन् । शुक्रबारको घटना भने अघिल्लाभन्दा बढी हिंसात्मक भएको स्रोत बताउँछ ।
यसअघि बिहीबार साँझ पनि कारागारभित्र झडप भएको थियो । जसमा ५ जना कैदीबन्दी घाइते भएका थिए । उनीहरुमध्ये एकजनाको टाउकोमा चोट लागेको थियो ।