कैलाली-कैलाली कारागारमा शुक्रबार भएको हिंसात्मक झडपपछि एक कैदीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्।
घटना भएको ३६ घण्टा बितिसक्दा पनि स्थानीय प्रशासनले कारागारभित्र स्थिति नियन्त्रण गर्न सकेको छैन। कैदीहरूले कारागारभित्रबाट ताला लगाएर पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका छन् र सुरक्षाकर्मीलाई प्रवेश गर्न दिइएका छैनन् ।
मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार कैदीहरूले कैलाली प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह रानाबाहेक अन्य उच्च तहका प्रतिनिधिलाई मात्र भेट दिने बताएका छन्।
उनीहरू गृह मन्त्रालय र कारागार व्यवस्था विभागका प्रतिनिधिसँग मात्र वार्ता गरेर आफ्ना माग राख्ने बताएको छ।
प्रमुख जिल्ला अधिकारी हमालले अहिलेसम्म सुरक्षाकर्मी कारागारभित्र प्रवेश गर्न नपाएका स्वीकार गरेका छन् ।
घटनापूर्व १४ साउनमा कैदीहरूले मानव अधिकार आयोगलाई पठाएको ध्यानाकर्षण पत्रमा आफूहरू असुरक्षित रहेको र कारागारको सुरक्षा व्यवस्थामा कमजोरी भएको उल्लेख गरिएको थियो।
आयोगले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कारागार विभागलाई उचित सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइसकेको थियो।
तर उक्त कुरालाई गम्भीर रूपमा नलिँदा शुक्रबार हिंसात्मक घटना हुन पुगेको मानव अधिकार आयोगको ठहर छ । उसले कारागारको सुरक्षा व्यवस्था फितलो रहेको जनाएको छ ।
सुरक्षा व्यवस्था फितलो भएकै कारण शुक्रबार ब्लक ए मा रहेका कैदीहरूको समूहले ब्लक बी का कैदीहरूमाथि भित्ता फुटाउँदै आक्रमण गरेको थियो।
यस आक्रमणमा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको छ भने ४९ घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि काठमाडौं र सेती प्रादेशिक अस्पतालको आईसीयूमा राखिएको छ।
हाल १५० क्षमताको कैलाली कारागारमा करिब सात सय कैदी रहेका छन्।