काठमाडौं-नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको शिर्ष नेताहरुको छलफलमा केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री फेरबदलबारे कुराकानी भएको बुझिएको छ ।
भेटमा नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमाले उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक सहभागी रहेको बताइएको छ ।
पछिल्लो समय सरकारको काम प्रभावकारी नभएका भन्दै आलोचना बढ्न थालेपछि मन्त्रीहरू फेरबदल गर्न शीर्ष नेताहरु सहमत भएको बुझिएको छ ।
प्रधानन्त्री ओलीले नै नयाँ मन्त्री नियुक्त गर्ने प्रस्ताव राखेको तर देउवाले भने उक्त प्रस्तावमा असहमति जनाएको बुझिएको छ । यद्यपी देउवाले पार्टीभित्र समीकरण मिलाउन भने गाह्रो हुने बताएका छन् ।
सरकार गठनको एक वर्ष नाघिसकेकाले मन्त्री परिवर्तन गनुपर्ने दबाब दुबै पार्टीभित्र पनि परेको छ । तर, बैठकमा देउवाले ‘अहिले मन्त्री बदलेर पार्टीभित्र फेरि विवाद निम्त्याउनु भन्दा तपाईंले बदल्नुस् हाम्रालाई छोडिदिनुस्’ भन्दै ओलीलाई जवाफ फर्काएका थिए ।
एमालेले सरकार गठन भएपछि दुई मन्त्री परिवर्तन गरिसकेको छ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराई र संघीय मामिला तथा सामान्य प्रशासनन्त्री राजकुमार गुप्तालाई परिवर्तन गरिसकेको छ । भट्टराईका स्थानमा रघुजी पन्त र गुप्ताका स्थानमा भगवती न्यौपाने मन्त्री बनेका छन् ।
कांग्रेसले भने अहिलेसम्म कुनै मन्त्रीलाई पनि चलाएको छैन ।
विवादमा तनिएका, कार्यक्षमता कमजोर देखिएका र नतिजा दिन नसकेका नेताहरु ‘रेड जोन’ मा छन् । कांग्रेसबाट उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको नेृत्वमा अहिले १० जना मन्त्री छन् ।
रमेश लेखक गृह, आरजु राणा परराष्ट्र, बद्री पाण्डे पर्यटन, रामनाथ अधिकारी कृषि, तेजुलाल चौधरी खेलकुद, अजय चौरसिया कानून, दीपक खड्का ऊर्जा र प्रदिप पौडेल स्वास्थ्यमन्त्री छन् ।
कांग्रेसबाट मन्त्री बनेकाहरुमध्ये सबैभन्दा बढी विवादमा उर्जामन्त्री दीपक खड्का तानिएका छन् । त्यसैगरी गृहमन्त्री लेखक, कृषिमन्त्री अधिकारी र कानूनमन्त्री चौरसियाविरुद्ध पनि पार्टीमा कुरा उठिरहेको छ ।
सबैभन्दा विवादमा तानिएका र बद्नाम भएका उर्जामन्त्री दीपक खड्कालाई जसरीपनि फिर्ता बोलाउनुपर्ने माग सभापति देउवासम्म पुगेको छ । तर, खड्काको प्रभावमा परेका देउवा उनलाई फिर्ता बोलाउने पक्षमा नरहेको स्रोतको दावी छ ।
लोकतान्त्रीक समाजवादी पार्टीबाट मन्त्री बनेका शरतसिंह भण्डारी पनि ‘रेड जोन’ मा छन् । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाटै श्रम मन्त्रालयको गाडी हराएको विषयले श्रममन्त्री भण्डारी विवादमा तानिएका हुन् ।