काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवा जागरुक हुन थालेको बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आफू देशका विभिन्न स्थानमा जाँदा हाल धेरै ठाउँमा मानिस आफ्नै देशमा रोजगारी सिर्जना गर्ने अभियानतर्फ लागेको पाएको उल्लेख गरे । उनीहरूलाई प्रोत्साहन गर्न जरुरी रहेकामा उनले जोड दिए ।
विदेश जाने मनोवृत्तिलाई विस्तारै परिवर्तन गर्नुपर्ने उनले बताए । देशभित्रै सम्भावना र सम्भव रहेको उनको भनाइ थियो । “विदेश जाने मनोवृत्तिलाई बिस्तारै परिवर्तन गर्नुपर्छ । देशभित्रै सम्भव छ, देशभित्रै सम्भावना छ,” उनले भने, “हामीकहाँ प्रचुर प्रकृति र इतिहासले, संस्कृति र जाति, भाषाले धेरै चिज हामीलाई दिएको छ । संसारको अरू देशमा त्यो भेटिँदैन ।”