काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमीको शुभकामना व्यक्त गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका हुन् । उनले श्रीकृष्णको शिक्षाले सबैको जीवनलाई आलोकित बनाओस् भन्दै शुभकामना दिए ।
उनले लेखेका छन्, ‘आज कृष्ण जन्माष्टमी, कर्म, ज्ञान र प्रेम (भक्ति) को बाटो देखाउने श्रीकृष्णको शिक्षाले सबैको जीवनलाई आलोकित बनाओस्। कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना !’
‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
यस अवसरमा देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने गर्छन् ।