काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेस र सत्ताको नेतृत्वकर्ता नेकपा एमालेका सांसदहरूलाई आज सिंहदरबारमा बोलाइएको छ । नेपाली कांग्रेसका सांसदलाई १० देखि दुई बजेभित्र संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको छ ।
यस्तै नेकपा एमालेका सांसदलाई पनि साढे १० बजे सिंहदरबारमा बोलाइएको छ । उनीहरूलाई पनि संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको हो । दुवै दलका सांसदले आफूहरूलाई सिंहदरबारमा बोलाइएको बताएका छन् । उनीहरूलाई हस्ताक्षरको लागि बोलाइएको बुझिएको छ ।
उपसभामुख इन्दिरा रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् । गत वर्ष दुई दलले ‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरेका थिए।