काठमाडौं– भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र उपराष्ट्रपति रामसहायप्रसाद यादव र लगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक सुरु भएको छ । शनिबार नेपाल भ्रमण आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेलगत्तै द्विपक्षीय बैठक काठमाडौंको होटेल याक एन्ड यतीमा सुरु भएको हो ।
वार्तामा व्यापार, लगानी, जलविद्युत् र सांस्कृतिक सहकार्यका विषयमा छलफल गरिने कार्यतालिका छ । नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आएकी हुन् । नेपाल र भियतनामबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । शनिबार नेपाल आएकै दिन उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्न प्रस्ताव राखेकी थिइन् ।
उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सोमबार सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नेछिन् । काठमाडौं र ललितपुरका ऐतिहासिकस्थलहरूको भ्रमण गर्ने पनि कार्यतालिका छ । त्यसपछि उनी स्वदेश फिर्ता हुनेछिन् ।