काठमाडौ– भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र राष्ट्रपति रामचन्द्र पौडेल बिच शिष्टाचार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेकी उपराष्ट्रपति सुआन राष्ट्रपति पौडेललाई भेट्न सोमबार बिहान शीतलनिवास पुगेकी हुन् । यसअघि आइतबार सिंहदरबारमा सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भइसकेको छ । सो भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको छ । आइतबार नै उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग याक एन्ड यति होटेलमा द्वीपक्षीय बैठक भएको थियो।
दुवै पक्षले भेटमा उच्च तहमा भ्रमण आदानप्रदान, सांस्कृतिक र धार्मिक सहकार्य, पर्यटन प्रवर्द्धनका लागि हवाई सम्पर्क बढाउनुका साथै व्यापार, लगानी र डिजिटल रूपान्तरणका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल भएको छ । यस्तै शनिबार नेपाल आएकै दिन उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन् । मन्त्री राणाले भियतनामबाट पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान गर्न प्रस्ताव राखेकी थिइन् ।
नेपाल(भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा सुआन नेपाल भ्रमणमा आएकी हुन् । नेपाल र भियतनामबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । अजै काठमाडौं र ललितपुरका ऐतिहासिकस्थलहरूको भ्रमण गर्ने पनि कार्यतालिका छ । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी सोमबार नै स्वदेश फिर्ता हुने तालिका छ ।