काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना नेता–कार्यकर्ताहरुलाई गुट–उपगुटमा नलागी पार्टी एकता र संगठन विस्तारमा केन्द्रित हुन निर्देशन दिएका छन् । कर्णाली प्रदेश कमिटीको पूर्ण बैठकलाई भर्चुअल माध्यमबाट बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेकाले पार्टीभित्र द्वन्द्व सिर्जना गर्ने षडयन्त्र भइरहेको समेत बताए ।
उनले भने–‘माओवादीको बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतंकित बनाएको छ । त्यसैले पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्रहरू भइरहेका छन् । गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने स्पष्ट संकल्प स्थायी समितिले गरिसकेको छ । तपाईंहरुले आफ्नो क्षेत्रमा पनि त्यसैअनुसार गर्नुहोला ।’ पछिल्ला विभिन्न निर्वाचनहरूमा कांग्रेस र एमाले मिल्दा समेत माओवादी केन्द्र निकट उम्मेदवारहरू जितेको भन्दै उनले त्यसलाई जनविश्वास पुनः प्राप्त हुँदै गएको उदाहरणको रुपमा ब्याख्या गरे ।
स्थानीय तह, स्ववियु, पत्रकार महासंघ र हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्र निकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकको रूपमा लिनुपर्ने उनको भनाई थियो । शिक्षा विधेयक लगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले विशेषतः शिक्षक समुदायमा माओवादी केन्द्रप्रति समर्थन बढेको जिकिर र्गै उनले भने–‘कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हामीले लिएको अडानका कारण लाखौँ शिक्षकहरूले समर्थन देखाएका छन् ।’