काठमाडौं– नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो। खापुङ आफ्नो ब्याचका एक्ला एआईजी हुन्। हाल प्रहरीमा रहेका अरू एआईजी उनीभन्दा जुनियर हुन्। हालका प्रहरी महानिरीक्षक दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाश हुने भएपछि सरकारले एक साताअघि नै नयाँ आईजीपी नियुक्ति गरिएको हो।
नवनियुक्त आईजीपी खापुङले भदौ १९ गतेदेखि कार्यभार सम्हाल्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाने र १८ गते मात्रै फर्किने भएकाले त्यसअघि नै आईजीपी नियुक्त गरिएको हो। खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन्। खापुङले झण्डै तीन महिना नेपाल प्रहरीको प्रमुख भएर काम गर्ने अवसर पाउने छन् ।