काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज सकिँदैछ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुईदिनदेखि जारी महाधिवेशन आज सकिन लागेको हो।
महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि १० वटा समूहबिचको विमर्श सकिएको छ। विमर्शका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह बनाइएको थियो। कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिले छुट्टाछुट्टै समूहमा विमर्श भइसकेपछि प्रतिवेदन लेख्न सुरु गरिएको छ। प्रतिवेदन आइतबार प्रत्येक समूहका टोलीनेताले महाधिवेशन हलमा प्रस्तुत गर्ने छन्।
शनिबार दिनभर छलफल विमर्शपछि त्यसको निष्कर्ष निकालेर प्रतिवेदन लेखन कार्य सुुरु भएको एमाले बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामाले जानकारी दिइन्। सहभागी प्रतिनिधिले दिएको सुझावका आधारमा १० वटा नै समूहले आफ्नो प्रतिवेदन लेख्न थालेको लामाले बताइन्।
एमाले केन्द्रीय प्रचार विभाग प्रमुख गौतमले शनिबार सबै समूहले छलफल विमर्श सकेर आइतबार प्रतिनिधिको सुझावसहितको प्रतिवेदन समूहगत नेताले हलमा प्रस्तुत गर्ने उल्लेख गरे।
समूहगत रूपमा आएका प्रतिवेदनमा समेटिएका सुझाव, जिज्ञासाको अध्यक्ष ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाउने तयारी भएको गौतमले जानकारी दिए। सकेसम्म सबैलाई सुझाव समेटेर एकीकृत रूपमा पार्टी विधान तयार गरिने बताउँदै गौतमले प्रस्ताव पारित गरेर एमालेको दोस्रो विधान महाधिवेशन आइतबार सक्ने तयारी भइरहेको उनले स्पष्ट पारे।
अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसहितको प्रतिवेदनसँगै विभिन्न परिषद्का प्रतिवेदनमाथि १० समूहले छलफल विमर्श गरेका थिए।