काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ ।
जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेका देउवाको टाउकोमा गम्भीर चोट लागेको र टाउकोमा १२ वटा टाँका लगाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए । ब्रिफिङका क्रममा उपसभापति खड्काले सभापति देउवाको गर्धनमाथि गम्भीर चोट लागेको र १२ टाँका लगाइएको जानकारी गराएको हो
भदौ २४ गते सभापति देउवा दम्पतीमाथि आक्रमण र घर, गाडी लगायतमा आगजनी भएको थियो।
त्यसबेला जेनजी पुस्ताको आन्दोलन चलिरहेको थियो। भ्रष्टाचारविरूद्ध र केपी शर्मा ओली नेतृत्वको कांग्रेस सहभागी सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजीले प्रदर्शन गरेका थिए।
भदौ २३ को प्रदर्शनमा काठमाडौंमा १७ जनाको मृत्यु भएपछि भोलिपल्ट प्रदर्शनकारीहरूले नेताका घर र सरकारी कार्यालयमा आगजनी गरेका थिए।
जेनजीको हिंसात्मक आन्दोलनमा सहभागी आन्दोलनकारीले देउवाको निवासमा आगजनी गरेका थिए। आगजनी र तोडफोड हुँदा घरमै रहेका देउवा दम्पत्तीमाथि आक्रमण भएको थियो।
हाल देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि विश्वकर्माले बताए ।