काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक घटनाक्रमअनुसार प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी नरहेको बताएका छन् ।
शुक्रबार संविधान दिवसका अवसरमा शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले यस्तो बताएका हुन् ।
उनले भने- ‘प्रतिनिधिसभाबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय नभएकोले आम सहमतिबाट यो कदम चालिएको कुरा सबैले बुझौं । ६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबै जागौं । नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्नेछ भन्ने मेरो दृढ विश्वास छ । अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ ।’
समयमा निर्वाचन सम्पन्न गर्नु सबै नेपालीको अहिलेको मुख्य कार्यभार रहेकोमा उनले जोड दिए ।
उनले भदौ २३ र २४ गतेको आन्दोलनले अपुरणिय क्षति बेहोरेको भन्दै मुलुकका कर्णधार युवाहरू गुमाउँदाको क्षतिबारे आफू जानकार रहेको समेत बताएका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहमा विभिन्न दलका शीर्ष नेतासहित जेनजी प्रतिनिधिहरू पनि सहभागी छन् ।