काठमाडौं-स्वास्थ्य तथा जनसंख्यामन्त्री सिफारिस भएकी डा. संगीता कौशल मिश्रको नाम काटिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले उनलाई स्वास्थ्य मन्त्री बनाउन चाहे पनि कर्मचारीका रुपमा कार्यरत रहँदा अनेक विवादका प्रसंग जोडिएपछि उनको नाम काटेकी हुन् ।
आइतबार साँझ डा. मिश्र स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी थिइन् ।
उनीसंगै सिफारिस भएका मन्त्री आज उद्योग, कानुनमन्त्रीका रुपमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रीका रुपमा महावीर पुन, कृषि मन्त्रीका रुपमा मदन परियार र सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रुपमा पत्रकार जगदीश खरेलले शपथ लिँदैछन् ।
नयाँ मन्त्रीहरूलाई दिउँसो २ बजे शीतल निवासमा शपथ गराउने तयारी थियो । तर, संगीताको नाममा विवाद भएपछि दिउँसो ३ बजेका लागि सारिएको छ ।
मिश्रको नाम स्वास्थ्यमन्त्रीका लागि आइतबार फाइनल भए पनि जेनजी युवाहरूले विगतमा भ्रष्टाचारसहितका मुद्दामा जोडिएकाले मन्त्री बनाउन नहुने अडान लिएका थिए । त्यहीकारण यसअगाडि स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिवका रुपमा कार्यरत मिश्रले मन्त्री पदमा जाने योजना करिब तुहिएको छ ।
आइतबार कार्कीले डा. मिश्रसहित ५ मन्त्रीको नाम सिफारिस गरेकोमा उनको नाम काटिएपछि चार मन्त्रीको शपथ हुने निश्चित भएको हो ।
यसअघि ४ सदस्यीय मन्त्रिपरिषद्मा आज ४ जना थपिएपछि ८ ससदस्यीय हुने भएको छ ।
गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले २९ गते कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन् ।