काठमाडौं-मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलनलगत्तै आफूलाई प्रधानमन्त्रीको अफर आएको दाबी गरेका छन् ।
मङ्गलबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा जङ्गी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको भेटका सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदैं उनले आफूलाई प्रधानमन्त्रीको अफर आएको दाबी गरेका हुन् ।
उनले भने- ‘जुन विदेशीहरूको खेलमा सरकार बन्दैछ म जान्न भनेको हुँ । अनि मलाई किन चाहियो प्रधानमन्त्री रु मेरो घर छँदै छ, गाडी छँदै छ ।’
प्रसाईँले जेनजी आन्दोलनलाई हाइज्याक गरिएको दाबी गरेका छन् ।
उनले थपे- ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन । जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन् । आन्दोलनमा सिंहदरबार, सर्वोच्चमा आगलागी भयो, हामी पनि छक्क पर्यौँ ।’
प्रसाईँले आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा गइसकेको बताएका छन् ।
यस्तै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि छठलगत्तै अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् ।