काठमाडौं-शारजाहमा सम्पन्न पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वविजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ।
नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा ९ विकेट गुमाएर १२९ रनमै समेटियो। बलरहरूको धारिलो प्रदर्शन र चुस्त फिल्डिङ नेपाली सफलतामा निर्णायक रह्यो।
अलराउन्डर कुशल भुर्तेलले १७ रन मात्र खर्चेर २ विकेट लिँदै उत्कृष्ट खेल प्रदर्शन गरे भने ललित राजवंशीले २ ओभरमा ६ रन मात्र दिँदै १ विकेट झारे। कप्तान रोहित पौडेलसहित करण केसी, नन्दन यादव र दीपेन्द्रसिंह ऐरीले पनि १-१ विकेट हात पारे। रनआउटका कारण वेस्ट इन्डिजका दुई ब्याट्सम्यान सस्तोमा पाभिलियन फर्किए।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाउँदै १४८ रन जोडेको थियो। कप्तान पौडेलले ३८ रन बनाए भने कुशल मल्ल (३०), गुलशन झा (२२) र दीपेन्द्र ऐरी (१७) ले महत्वपूर्ण योगदान दिए।
वेस्ट इन्डिजका लागि जेसन होल्डर सर्वाधिक सफल बलर बने, उनले ४ विकेट झारे। तर, उनको उत्कृष्ट बलिङले पनि टोलीलाई जित दिलाउन सकेन।
यो जितसँगै नेपालले तीन खेलको टी-२० शृंखलामा १-० को अग्रता लिएको छ। अब नेपाल असोज १३ र १४ गते हुने दोस्रो र तेस्रो खेलमा श्रृंखला जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।