काठमाडौं-राष्ट्रिय जेनजी पार्टी नेपालले आज निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ।
पार्टीका अनुसार हालै सम्पन्न जेनजी आन्दोलनलाई राजनीतिक रूपले संस्थागत गर्न, प्रतिक्रान्तिबाट जोगाउन र लोकतान्त्रिक निकास खोज्न नयाँ दल आवश्यक भएकाले दल गठन गरिएको हो।
पार्टीको चिन्ह ‘डबल क्रस खुकुरी’ कायम गरिएको छ। पदाधिकारी संरचनामा प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेका छन् ।
अध्यक्ष हिरा प्रसाद सेती, उपाध्यक्षमा मुना बिक, महासचिवमा गोपाल आचार्य, सचिवहरूमा संजु नेपाली, मोहम्मद आयातुल्ला रहमान, होम श्रेष्ठ रहेका छन् ।
पार्टीले सामाजिक उदारवादलाई राजनीतिक सिद्धान्त मानेको छ।
राष्ट्रिय जेनजी पार्टीका मुख्य आधारस्तम्भहरू युवा, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक अल्पसंख्यकको अधिकार र गणतन्त्र रहेका छन्।
निर्वाचन आयोगले आवश्यक कागजातसहित कार्तिक ९ गतेभित्र उपस्थित हुन निर्देशन दिएको छ। दलको संघीय कार्यालय अनामनगरमा रहेको छ।
राष्ट्रिय जेनजी पार्टी नेपालले सम्पूर्ण जेनजी आन्दोलनका सहभागी, नागरिक र राजनीतिक दलहरूलाई आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ।