काठमाडौं-सर्वोच्च अदालतले जेनजी आन्दोलनका नाममा अदालतमा आगजनी तथा तोडफोड गर्नेविरुद्ध प्रहरीमा जाहेरी दिने निर्णय गरेको छ ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित देशका २३ वटा अदालत आगजनी भएको थियो ।
सर्वोच्च अदालतको फुलकोर्टले आगजनी तथा तोडफोड गर्नेविरुद्ध जाहेरी दिने निर्णय गरेको हो ।
आइतबार बसेको फुलकोर्ट बैठकले आगजनी र तोडफोडमा संलग्नहरुलाई पक्राउ गरेर कानूनी दायरामा ल्याउन सबै क्षतिको विवरणसहित जाहेरी दिने निर्णय भएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।
सर्वोच्च अदालतले आगजनी र तोडफोड भएका सबै अदालतलाई जाहेरी दिन निर्देशन दिएको छ । आगजनीबाट सर्वोच्च अदालतका भवनसँगै ४२२ वटा सवारीसाधान, ९ लाख ३३ हजार ८२३ वटा मुद्दाका मिसिलमा क्षति पुगेको छ । सर्वोच्चमा ४ हजार दुई सय मुद्दाका मिसिल मात्रै बचेका छन् ।
अन्य अदालतमा ७ लाख ६ हजार ७१ थान मुद्दाका मिसिल जलेर नष्ट भएका छन् । आगलागीबाट सर्वोच्च अदालतको एनेक्स भवनबाहेक सबै काम नलाग्ने भएका, उच्च अदालत तुलसीपुर, उच्च अदालत बुटवल र उच्च अदालत पाटनको हेटौँडा इजलासको भवन पनि ध्वस्त भएको छ ।
त्यस्ते जिल्ला अदालत काठमाडौं, मोरङ, चितवन, कास्की, तनहुँ र बाँकेका भवन पनि काम नलाग्ने अवस्थामा छन् ।